धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको प्रक्रिया अगाडि बढेको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बताएकी छन्।
आइतबार निर्माणस्थलको निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजातमा स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भई पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिइन्। प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान गरिने र भवनको शिलान्यास पनि चाँडै हुने उनको भनाइ छ।
ट्रमा सेन्टर सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेको मन्त्रीले बताइन्। यता, प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले निर्माण कार्य सुरु भएपछि मात्रै स्थानीयवासीमा विश्वास बढ्ने भन्दै कामलाई तीव्रता दिन आग्रह गरेका छन्।
ट्रमा सेन्टर निर्माणले धनुषा तथा आसपासका नागरिकलाई आकस्मिक उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


