
वैदेशिक रोजगारीका लागि युरोपेली देश बुल्गेरिया र क्रोएसिया पठाउने प्रलोभन देखाउँदै काठमाडौँको कोटेश्वर नजिकै रहेको एक कन्सल्टेन्सीले १८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुलासा भएको छ। ‘कोज्मो कन्सल्टेन्सी’ नामक उक्त संस्थाका सञ्चालकहरूले बुल्गेरिया र क्रोएसियामा रोजगारीको व्यवस्था मिलाइदिने भन्दै प्रतिव्यक्ति १ लाखदेखि २ लाख ८५ हजार रुपैयाँसम्म उठाएका थिए। तर, पैसा उठाएपछि कन्सल्टेन्सीका सञ्चालक फरार भएका छन्।
पीडितहरूका अनुसार उनीहरूलाई ४ जनवरीमा भारतको नयाँदिल्ली हुँदै गन्तव्य मुलुक पठाइने भनिएको थियो। तर सोही दिन कन्सल्टेन्सी अचानक बन्द भएको थाहा पाएपछि पीडितहरू कार्यालय पुगेका थिए, जहाँ ताला लागेको अवस्था भेटिएको थियो। त्यसपछि बुझ्दै जाँदा आफूहरू ठगीमा परेको पुष्टि भएको पीडितहरूले बताएका छन्। हालसम्म १२० भन्दा बढी पीडितले ठगिएको रकम फिर्ताका लागि प्रहरी र वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा करिब ३०० जनाबाट १५ देखि १८ करोड रुपैयाँसम्म असुली गरिएको पाइएको प्रहरीले जनाएको छ।

