
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ। प्रहरी प्रधान कार्यालयले कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो।
निर्वाचन सुरक्षामा खटिन इच्छुक नागरिकहरूले पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्। सार्वजनिक बिदाका दिनसमेत दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जनाएको छ।
दरखास्त फारम काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रहरी परिसर तथा सबै जिल्ला प्रहरी कार्यालयहरूबाट लिन र बुझाउन सकिने व्यवस्था गरिएको छ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न जान्ने नेपाली नागरिकहरू निर्वाचन प्रहरीमा भर्ना हुन सक्नेछन्। माघ ५ देखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन भई माघ १२ गते अन्तिम नतिजा प्रकाशन गरिनेछ।
छनोट भएका उम्मेदवारहरूले माघ १५ देखि २४ गतेसम्म तालिम लिनुपर्नेछ। निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुनेछ। यस अवधिमा उनीहरूले ३४ हजार ७७६ रुपैयाँ तलब पाउनेछन्। साथै रासन तथा आवतजावत खर्च बापत ८४६ रुपैयाँ अतिरिक्त प्रदान गरिनेछ।
त्यसैगरी, निर्वाचन प्रहरीले ४ दिनका लागि दैनिक ३०० रुपैयाँका दरले खाजा खर्च पाउनेछन्। पोसाक खर्च छुट्टै रूपमा प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने जनाएको छ।
सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने मिति यसअघि नै घोषणा गरिसकेको छ।

