
धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव चर्किएपछि वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्म लागू गरिएको कर्फ्युको अवधि थप गरी दिउँसो १ बजेसम्म पुर्याइएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पूर्वतर्फ बसपार्क, नगवा र इनर्वा, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चोक तथा दक्षिणतर्फ शंकराचार्य गेटसम्म कुनै पनि प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।
कर्फ्यु अवधिमा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ। अत्यावश्यक अवस्थामा बाहिर निस्कनु परे नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० नम्बरमा फोन गरी जानकारी गराउन अनुरोध गरिएको छ।
धार्मिक तथा सामाजिक विषयलाई लिएर आइतबारदेखि वीरगञ्जमा दुई समुदायबीच निरन्तर प्रदर्शन हुँदै आएको छ, जसका कारण नगर क्षेत्र अशान्त बन्दै गएको प्रशासनले जनाएको छ।

