नेपालमा गहुँ आयात, फ्लोर मिल सञ्चालन र आटा–मैदाको मूल्यलाई लिएर सरकार र उद्योगीबीच गम्भीर विरोधाभास देखिएको छ।o सरकारले आधिकारिक रूपमा गहुँ आयातका लागि कोटा तोके पनि उद्योगीहरूले झन्झटिलो प्रक्रिया र जोखिमका कारण त्यसलाई बेवास्ता गरेका छन्।
पछिल्लो दुई वर्षमा आधिकारिक रूपमा गहुँ आयात नगन्य हुँदा बजारमा आटा तथा मैदाको मूल्य ह्वात्तै बढेको छ। थोकमा प्रतिकिलो ५–६ रुपैयाँ बढ्दा खुद्रामा भने २० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ, जसको प्रत्यक्ष असर उपभोक्ताको भान्सामा परेको छ।
स्वदेशी उत्पादनले कुल माग धान्न नसक्ने अवस्थामा भारतको कोटा प्रणाली, अग्रिम भुक्तानी र जटिल प्रक्रियाले समस्या झनै बढाएको उद्योगीहरूको भनाइ छ। सरकारले भने आयात नहुँदा कच्चापदार्थ कहाँबाट आइरहेको हो भन्ने प्रश्न उठाउँदै राजस्व गुमिरहेको बताएको छ।

