काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएसँगै उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छन्। स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयर पद रिक्त भएपछि स्वतः उपमेयरले कार्यवाहकको जिम्मेवारी पाउने व्यवस्था रहेकाले सोही ऐनबमोजिम डंगोल कार्यवाहक प्रमुख बनेकी हुन्।
राजीनामापछि बालेन्द्र शाह रास्वपाको पार्टी कार्यालय पुगेका थिए भने आजै बस्ने पार्टीको केन्द्रीय समितिको बैठकपछि सभापति रवि लामिछानेसहित जनकपुरमा आयोजना हुने चुनावी कार्यक्रममा सहभागी हुने तयारी छ। शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा रहेका छन्।

